22 Oct, 2024, Tue ddcdoti094@gmail.com (+९७७)-०९४-४२०१५६
/ संक्षिप्त परिचय

संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ जेठ १३ गते आइतबार

साविकमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल रहेको यस डोटी जिल्ला हाल सुदूर पश्चिम प्रदेशमा पर्दछ । सिलगढी सदरमुकाम रहेको यस जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्लाहरू रहेका छन् । भौगोलिक रुपमा पहाडी क्षेत्रमा अवस्थित डोटी जिल्ला भौगोलिक , जैविक, सामाजिक, साँस्कृतिक विधिताले परिपूर्ण रहेको छ । समुद्र सतहवाट लगभग ३४३० मिटरको उचाईमा रहेको डोटी जिल्लामा हिमाली, पहाडी एवं तराई क्षेत्रको वातावरण एवं परिवेश प्रष्ट देख्न र अनुभव गर्न सकिन्छ ।

भौगोलिक अवस्थिति

अक्षांस-२८ डिग्री ५२ मिनेट उत्तर देखि २९ डिग्री २८ मिनेट उत्तरसम्म

देशान्तर-80 डिग्री ३० मिनेट पुर्व देखि ८१ डिग्री १४ मिनेट पूर्वसम्म

राजनैतिक एवं प्रशासनिक विभाजन

डोटी जिल्ला सुदूरपश्चिम प्रदेश अन्तरगतको पाहाडी जिल्ला हो । जिल्ला सदरमुकाम दिपायल सिलगढी नगरपालिका अन्तरगत सिलगढीमा अवस्थित छ । यस जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ र प्रदेश सभा निर्वाचन क्षेत्र २,स्थानीय तह संख्या ९(नगरपालिका २ र गाउँपालिका ७) वटा रहेका छन् । ९ वटै स्थानिय तहमा कुल वडा संख्या ६५ रहेको छ ।

प्रमुख नदीहरु

सेतीनदी, फुलौटीगाड, गण्डीगाड, कालागाड, द्वारीखोला, समुहगाड, ठूलीगाड, गोल्मागाड, सायलीगाड, ल्वाखडीगाड, वडीगाड, टुडा गाड, कापडी गाड आदी। नेपालको नदी प्रणाली अनुसार डोटी जिल्ला कर्णाली नदीको जलाधार क्षेत्र भित्र पर्दछ । डोटी जिल्लाभित्र सानीगाड जलाधार क्षेत्र, सेती नदीजलाधार क्षेत्र र ठूली गाड जलाधार क्षेत्र गरेर तीन जलाधार क्षेत्रहरु पर्दछन् । यी जलाधार क्षेत्रहरुलाई दुइवटा महाभारत पववतीय श्रृङ्खलाहरुले छुट्टयाएका छन् ।



प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलहरु

 यस जिल्लामा थुप्रै धार्मिक तथा ऐतिहसिक स्थलहरु रहेका छन् । जस मध्ये शैलेश्वरी मन्दिर (सिलगढी), मष्टा मष्टा मन्दिर (सिलगढी) राधाकृष्ण मन्दिर (सिलगढी), अश्वद्वाला (डौड), बासुधारा (दिपायल), कोटभैरव मन्दिर (दिपायल), पशुपतिनाथ (मुडभरा), पञ्चेश्वर महांदेव मन्दिर (राजपुर), भागेश्वर मन्दिर (मुडेगाउँ), सालमुनी मन्दिर (मुडेगाउँ), वेतालमाण्डौ मन्दिर (सातफरी), सहश्रलिङ्ग (खप्तड), बडीकेदार (लानाकेदारेश्वर), मालिका मन्दिर (काँडामाण्डौं), दिल्पेश्वर मन्दिर (दिपायल), भिमछेदन शिला (सरस्वतीनगर), प्राचीन शिव देवलहरु (लाटामाण्डौं), घण्टेश्वरमन्दिर (घण्टेश्वर) र मोहन्याल देवताको मन्दिर(बर्छैन) आदी प्रमुख स्थलहरु रहेका छन् ।


प्रमुख पर्यटकीय स्थलहरु

डोटी जिल्लामा विभिन्न मनोरम पर्यटकिय स्थलहरू रहेका छन् । खप्तड स्वामी आश्रम, त्रिवेणी, नागढुंगा, हात्तीपाइला क्षेत्र, घोडादाउन्ने पाटन, डाँफेकोट, सहश्रलिङ्ग र खप्तडदह खप्तड राष्ट्रिय निकुञ्ज भित्र पने पर्यटकीय स्थलहरू हुन् भने छत्तिवन ताल(छत्तिवन), केदारेश्वर मन्दिर, भिमछेदन शिला (सरस्वतीनगर), सेती कर्णाली दोभान (कानाचौर), कोटभैरव (दिपायल) आदि पनि जिल्लाका प्रमुख पर्यटकीय स्थलहरु हुन् । डोटी अलग्गै राज्य भएको समयका पुराना राजकोटहरु (दिपायल) पुरातात्तिकपर्यटकीय स्थल हुन् । सदरमुकाम सिलगढीमा अवस्थित शैलेश्वरी भगवती यस जिल्लाको प्रमुख रमणीय तथा धार्मिक स्थलको रुपमा रही आएको छ ।


 

मुख्य वनस्पति तथा वन्यजन्तुहरु:

वनस्पति: साल,सल्ला,सिसौँ,बाँझ,निगालो,उतिस,कटुस,सिमल,साज आदी ।

वन्यजन्तु: बाग,भालु,स्याल,दुम्सी,बदेँल,बाँदर आदि ।

चराचुरुङ्गी: डाँफे,मुनाल,च्याखुरा,कालिज,ढुकुर आदी ।

जटीबुटीहरु: चिराइतो,दालचिनी,टिमुर,बोझो,सुगन्धवाल,अमला,रिठो,तेजपाल,पाषाणवेद,शिलाजित,सुनझाडी,कुरीलो,चुत्रो,जटामसी,सुनगाभा,भार्ला,कचुर,असुरो,हर्रो,बर्रो आदी ।

 

 

 

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ आश्विन २५ गते शुक्रबार